पर्वत जिल्लाका ग्रामीण जनतालाई स्वास्थ्य सेवा दिन स्थापना गरिने भनिएका आधारभूत अस्पतालहरु पाँच वर्ष पुरा हुन लाग्दा समेत एउटै पनि संचालनमा आएका छैनन् । जिल्लाको सात पालिकामध्ये केही स्थानीय पालिकामा अस्पताल भवनको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् भने केहीमा निर्माण सम्झौता नै हुन सकेको छैन ।
सरकारले दुई वर्ष भित्र आधारभूत अस्पताल संचालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने भनिए पनि पर्वतमा भने पाँच वर्ष वितिसक्दा समेत एउटै अस्पताल संचालन हुन सकेको छैन ।
कोभिड १९ को महामारीपछि स्वास्थ्य सेवालाई गाउँसम्म पुराउने भनी तत्कालीन केपी ओलीको सरकारले ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको घोषणा गरी एकैपटक शिलान्यास गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६⁄०७७ घोषणा गरेअनुुसार अस्पताल निर्माणको कार्यक्रम पर्वतका सातवटै पालिकाहरुमा छ ।
जिल्लाको मोदी गाउँपालिका वडा ५ स्थित बाजुङ पोखरेमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरेको ५ वर्ष वितिसक्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पुरा हुन नसकेको भनी वडा अध्यक्ष मन बहादुर अधिकारीको दुखेसो छ । जनताको स्वास्थ्य सेवाको माग अनुसार गाउँपालिका आफैले गतवर्ष भवन भाडा लिई आधारभूत अस्पताल संचालन गर्ने बताईएको थियो ।
मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार कार्यापालिकाको वैठकबाट निर्णय गरी आधारभूत अस्पताल संचालनका लागि गत आर्थिक वर्ष ८० लाख रुपैया विनियोजन गरिएको भए पनि केही काम हुन सकेन । विनियोजित रकम अन्य शीर्षकमा रकमान्तर गरिएको सूचना अधिकारी पोखे्रलको भनाई छ ।
कुश्मा नगरपालिका वडा १२ को ठुलीपोखरीमा करीव ५ करोडको लागतमा १० शैयाको आधारभूत अस्पताल भवन गतवर्ष निर्माण सम्पन्न भए पनि साधन र स्रोतको अभावमा स्वास्थ्यसेवा दिन नसकेको वडा अध्यक्ष झलक प्रसाद रिमालको गुनासो छ ।
जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा ३ मल्लाजमा करीव १० करोडको लागतमा निर्माणाधिन १० शैयाको आधारभूत अस्पतालको पक्की भवन निर्माण सम्पन्न भए पनि स्वास्थ्य सेवा संचालन हुन सकेको छैन ।
फलेवास नगरपालिका वडा ६ देविस्थानमा १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि भनी ५ रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड ७० लाख रुपैया प्राप्त भई भवन निर्माणको काम थालेको भए कामले गति लिन सकेको छैन । पालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यका अनुसार निर्माण सम्झौता गरी काम गर्न लाग्दा प्राविधिकले भवन निर्माणका लागि जग्गा उपयुक्त छैन भनेपछि भवन निर्माणको कामले गति लिन नसकेको हो ।
महाशीला गाउँपालिका वडा ५ को लुंखुदेउरालीमा १५ शैया बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नर बहादुर बरालका अनुसार भवन निर्माणको काम करीव २० प्रतिशत भएको छ ।
जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिकाको वडा ४ हुवासमा १० करोडको लागतमा निर्माणाधिन १० शैयाको आधारभूत अस्पतालको भवन पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सूचना अधिकारी अनिलकमल न्यौपानेका अनुसार अनुसार २०७८ बाट सम्झौता भई निर्माण थालिएको भवनको करीव ७० प्रतिशत काम मात्रै पुरा भएको छ । विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माणको कुनै काम हुन नसकेको प्रशासकीय अधिकृत यमनबहादुर रेश्मीको भनाई छ ।
प्रतिक्रिया