News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सहारापाटी विशेष

पर्वतमा यसपाली बाजी मार्ने उम्मेदवार को ?

मध्यावधि निर्वाचनको मिति आउन अब तीन दिन मात्र बाँकी छ । पर्वतमा चुनावी माहौलसँगै कसले जित हासिल गर्नेछ भनी आमसर्वसाधारण माझ कौतुहलता उस्तै छ । कौतुहलताकै बिच जनताले नयाँ सोच, विचारका साथ पर्वत विकासको स्पष्ट प्रतिवद्धता बोकेको बौद्धिक नयाँ युवा पुस्तालाई रुचाइरहेको देखिन्छ ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको खास राजनीतिक महत्व छ । आसन्न निर्वाचन गत भर्दौ २३ र २४ गते मुलुकमा भएको जेन्जी विद्रोहको रापले निम्त्याएको हो । जेन्जी विद्रोह कुनै राजनीतिक पार्टी विशेषलाई स्थापित गर्न गरिएको थिएन । विद्रोहले मुलुकबाट भ्रष्टचारको अन्त्य र सुशासनको स्थापना हुनु पर्ने ऐजेण्डा लिएको थियो । जनताले भ्रष्टचार विरुद्ध कडा कारवाही गर्न सक्ने र सुशासनको मुद्धालाई स्थापित गर्न सक्ने व्यक्तिलाई उम्मेदवार चयन गर्न खोजेका छन् ।
पर्वतबाट चुनावी मैदानमा होमिएको १७ जनामध्ये चार जना उम्मेदवारविच कडा प्रतिस्पर्धाको आंकलन गरिएको छ । मैदानमा होमिने उम्मेदवारमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरी पुरानै अनुहार हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान दर्शनशास्त्र विभाग सदस्य, नेपाली कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य, माक्र्सवादी ज्ञानकेन्द्रका अध्यक्ष लगायत दर्जनौ राष्ट्रिय तहका संस्थामा महत्वपूर्ण भूमिका निभाइसकेका साथै दर्जनौ महत्वपूर्ण पुुस्तकका लेखक रहिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिना र रास्वपाका सागर भुषाल पहिलोपटक चुनाव फेस गर्दै गरेका नयाँ युवाहरु हुन् ।
नेपाली कांग्रेसका जोशीले वि.सं.२०५६ सालदेखि चुनाव लड्दै आउनु भएको छ । जोशीँले वि.सं.२०५६, २०६४ र २०७० सालमा गरी तीन पटक चुनावमा विजय हात पार्नु भएको थियो । कांग्रेस नेता जोशी यसपाली चुनाव लड्दा छैटौ पटक चुनाव लड्नु हुनेछ । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी वि.सं. २०७४ र २०७९ मा चुनाव लडेर विजयी भई सकेको नेता हो भने यसपाली चुनावमा जित हासिल गरी ह्याट्रिक गर्ने तर्खरमा छन् ।
नेकाका उम्मेदवार जोशीले जेन्जी आन्दोलनलाई सकारात्मक रुपमा लिएको र अब भ्रष्टचारका विरुद्ध लडाइ लड्ने दाबीका साथ मतदातासँग मत माग्दै हिडेको पाइन्छ भने एमालेका उम्मेदवार गिरीले जिल्लामा पूर्वाधारका कामहरु थुप्रै भएका र बाँकी अधूरा काम पुरा गर्न आफूलाई मत दिनुपर्नेमा जोड दिएको देखिन्छ । नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई चुनाव जित्ने बलियो आधार भनेकै पार्टी संगठन हो । बलियो भनिएको संगठनमा समेत जेन्जी विद्रोह पछि खैलाबैला मच्चिएको छ ।
अझ बलियो पार्टी कार्यकर्ताको संगठन भनेको एमालेकै देखिन्छ । संगठनको बल भएपनि सवैभन्दा बढी राष्ट्रिय राजनीतिक प्रतिकूलताको मारमा भने नेकपा एमालेका उम्मेदवार गिरीलाई छ । जेन्जी विद्रोहको दिनसम्म सत्ताको नेतृत्व एमालेका ओलीले गरेका थिए । सत्तासीन पार्टी र सरकारको नेतृत्व प्रति जनताको एकखाले विपक्षी धारणा रहेको हुँदा पनि कांग्रेसका जोशी भन्दा पनि एमाले उम्मेदवार गिरीलाई राष्ट्रिय राजनीतिक माहौलले प्रतिकूलता दिलाएको छ ।
राष्ट्रिय माहौल एमालेका उम्मेदवार गिरी र जोशीको पक्षमा नरहे पनि जिल्लास्तरमा मजबुत पार्टीगत संगठनका कारण भने दुुवै जनाको राजनीतिक दबदबालाई कम आँक्न भने सकिदैन । अर्कोतर्फ नेपाली कांग्रेस र नेकपा एमाले पर्वतको आन्तरिक कलह, द्धन्द्ध र आपसी खिचातानीको असरले चुनावी मत परिणामलाई प्रभाव नपार्ला भनी अड्कल गर्न नसक्नु कच्चा विश्लेषण हुनेछ ।
कांग्रेस र एमाले पार्टीमा नयाँ युवा पुस्तालाई स्थान दिइएन भन्ने गुनासो पनि युवापुस्तामा रहदै आएको पनि सत्य हो । कडा प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरि तिमिल्सिना आफ्नो प्राज्ञिक व्यक्तित्व, सरल स्वभाव साथै मुद्धा केन्द्रित बहसमा खरो उत्रिने कारण पर्वतेली युवापुस्ता माझ विशेष प्रभाव छोड्न सफल भएको मानिन्छन् । जेन्जी विद्रोहपछि देशको राजनीतिक परिस्थिति बदलिएको छ । २०७९ को नतिजामा रमाएर बस्ने अवस्था छैन । २०७४ र २०७९ मा संघ र प्रदेश(ख) मा तत्कालीन माओवादी पार्टी रहेको र अहिलेको नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारी नहुँदा समानुपातिक मतमा असर परेको थियो ।
अहिले नेपाली कम्युनिष्ट पार्टी एकता र स्पष्ट ध्रुवीकरणसहित जनतामाझ आएको छ । आन्तरिक एकताले पूर्ण पार्टी पंक्तिको परिचालनको क्षमता दिएको छ भने मतदाताले स्पष्ट विकास र सम्वृद्धिको ऐजेण्डासहितको नयाँ अनुहार खोजिरहेका बेला त्यो नविनताको परिपूर्ति युवा नेता तिमिल्सिनाको उम्मेदवारीले पुरा गर्ने नेपाली कम्युनिष्ट पार्टीको ठम्याइ छ । युवा नेता तिमिल्सिना मत माग्न चुनावी २३ बुँदे लिखित प्रतिवद्धतासहित घरदैलोमा जाँदा मतदाताहरु प्रभावित भएको देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्तापंक्तिको चुनावी सक्रियता पनि प्रशंसा गर्न लायक पाइन्छ ।
रास्वपाका उम्मेदवार भुुसालका लागि भने राष्ट्रिय राजनीतिक माहौलले अलि बढी हौसाएको छ । जनताको परिवर्तनको चाहना रास्वपाले पुरा गर्ने कुरा जनता माझ राख्दै हिडेका भुसालको पक्षमा जिल्लामा युवापंक्तिको अलि बढी साथ र समर्थन रहेको पाइन्छ । रास्वपाको पार्टीगत संगठनका हिसाबले बलियो आधार त्यति देखिदैन । रास्वपा पर्वतले भने जिल्लाभर नै आफ्नो संगठन विस्तार भएको दाबी गर्दछन् ।
सामान्यत पर्वतको चुनावी माहौल रास्वपाको पक्षमा रहेको दाबी गरेपनि बजार क्षेत्र आसपास साथै कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशीला गाउँपालिकाबाट बढी मत आउने विश्वासमा रास्वपाको जिल्ला नेतृत्वको अनुमान छ । बाँकी पालिकाहरुमा भने मत सवै उम्मेदवारहरुबिच विभाजित हुने तर्क गरिन्छ । रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेको धेरै मत आकर्षित गरिदिदा यसको बढी लाभ दश हजार बढी पार्टी सदस्यता रहेको नेपाली कम्युनिष्ट पार्टीलाई हुने अड्कल गरिएको छ । मोदी गाउँपालिकाबाट अग्रस्थानमा आउने अड्कल गरिएका तिमिल्सिनालाई बाँकी छ वटै पालिकाबाट चित्तबुझ्दो मत प्राप्त हुने अड्कल छ ।
चार वटा राजनीतिक दलहरुमध्ये नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्ना संगठित कार्यकर्ता पंक्तिको मत संरक्षण गर्नु नै सवैभन्दा बढी चुनौती बनेको छ । कार्यकर्ता पंक्ति अहिले कुनै पार्टीको झोले कार्यकर्ता भन्दा पनि असल र दुरदर्शी युवा नेतृत्वको खोजीको मनोविज्ञानमा रहेका छन् । विशेष राजनीतिक परिस्थितिमा हुन लागेको निर्वाचनमा विदेश हुने युवायुवतीको प्रभाव समेत मतदानमा रहने कुरामा शंका छैन । यी सवै पक्ष साथै सामाजिक संजाल प्रयोगकर्ताको अभिव्यक्तिलाई केलाएर हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका उम्मेदवारबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । कसले बाजी मार्ला भन्ने पर्वतेली जनताकै हातमा छ ।

प्रतिक्रिया